काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसदमा पेस गर्ने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा समितिको प्रतिवेदन पेस गर्ने तयारी भएको हो । प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको विषयमा के सिफारिस हुन्छ भन्नेमा धेरैको चासो छ ।
स्रोतका अनुसार सो विषयमा समितिभित्र एकमत छैन । रास्वपाका शिशिर खनाल र माओवादी केन्द्रका लेखराज दाहालले लामिछानेको नाम किटान गर्न नहुने बताएका छन् । कांग्रेसका दिलेन्द्र बडु र ईश्वरी न्यौपानेले जसरी पनि लामिछानेलाई दोषी किटान गर्नुपर्ने अडान राखेका छन् ।
एमाले सांसद सूर्य थापाको नेतृत्वमा गएको जेठ १५ गते गठन भएको समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । शुरूमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।
तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी बचतकर्ताले प्रहरीमा दिएको उजुरीलाई पनि दबाउन लगाएर अनुसन्धानमा अवरोध गरेको भन्दै संसदमा लगातार आवाज उठेपछि संसदीय छानबिन विशेष समिति गठन भएको हो ।
संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयपछि समितिले यसै अधिवेशनमा प्रतिवेदन बुझाउने लक्ष्यसहित रातभर बैठक बसेको हो । गएराति अबेरसम्म बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको छ ।