राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मामलामा अनुसन्धान गरिरहेको प्रहरीले कम्तिमा ५० करोड रुपैयाँ बराबर कारोबारको विवरण संकलन गरेको छ ।अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, तीमध्ये केही रकम २०७९ सालको निर्वाचन र पुनः भएको उपनिर्वाचनका समयमा अमेरिकाबाट पठाइएको समेत भेटिएको छ । निर्वाचन आयोगले लामिछानेले उम्मेदवारी दिएको चितवन क्षेत्र नं. २ का लागि खर्च सीमा २९ लाख रुपैयाँ तोकेको थियो ।
तर, अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार वेग्लै खाताबाट निर्वाचनको समयमा अतिरिक्त खर्च भएको पाइएको छ । ‘चुनाव प्रचारका समयमा छुट्टै खाता खोलेर कारोबार गरिएको पाइएको छ, त्यसैले त्यतिबेला सीमाभन्दा बढी खर्च भएको थाहा भएनछ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘तर, अहिले निर्वाचन प्रयोजनका लागि चन्दा, सहयोगलगायत त्यही खातामा आउनुपर्नेमा बेग्लै खातामा रकम लिएर कारोबार गरेको भेटिएको छ ।’
यसबारे अनुसन्धान अधिकृतहरुले निर्वाचन आयोगलाई समेत जानकारी गराएर निर्वाचन कसुरमा छानबिन गर्ने तयारी गरेका थिए । तर, निर्वाचन सम्बन्धी कसुरमा अनुसन्धान गर्न ३ महिनाको हदम्याद भएकाले यस अन्तरगत जाँच अघि बढाउन नसकिएको जिल्ला प्रहरी कार्यालय, पोखराका एक अनुसन्धान अधिकृतले बताए ।