पूर्वसभामुख माओवादी नेत्री ओनसरी घर्तीले विशेष महाधिवेशनको माग गरेकी छन् । काठमाडौंको धुम्बाराहीस्थित स्मार्टदरबार बैंक्वेटमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेत्री घर्तीले विशेष महाधिवेशनबाट नयाँ विचारसहित पार्टी अघि बढ्नुपर्ने बताएकी हुन् ।पार्टीभित्र विचारको बहसको मोर्चा खोल्नुपर्ने बताएकी उनले पार्टीको भावी नेतृत्वको सवालमा पनि त्यही बहस र छलफलले अल गर्ने धारणा राखिन् ।
अब घिसेपिटे कार्यशैलीबाट परिवर्तन सम्भव छैन । त्यसैले पार्टीभित्र महान् बहसको मोर्चा खोल्नैपर्दछ,’ उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘त्यसका लागि विशेष महाधिवेशनमा जाऔँ र महान् बहसमा जुटौँ ।’विशेष महाधिवेशनको माग गरेकी घर्तीले वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा बदल्न पनि माग गरिन् । पार्टीको जिम्मेवारीमा रहेका अधिकांशमा बिचलन र स्खलन आएको भन्दै उनले त्यो कसैमा बढी र कसैमा कम देखा परेको जिकिर गरिन् ।अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनले हलचल ल्याउने बताउँदै उनले उत्पीडित वर्गको दृष्टिकोणबाट प्रतिवेदन सही भएको धारणा व्यक्त गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए ।