भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले ३ वर्षभित्रै भूमिहीनहरुले लालपुर्जा प्राप्त गरिसक्ने बताएका छन् ।
भूमि सम्बन्धी समस्याका सम्बन्धमा सुदूरपश्चिमका विभिन्न सरोकारवाला पक्षसँग छलफल गरेका रिजालले वास्तविक भूमिहीनहरुले तीन वर्षभित्र नै लालपुर्जा प्राप्त गर्ने बताएका हुन् ।
उनले भने, ‘ देशभरीबाट लालपुर्जाका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरेर १० लाख ९६ हजार ६७० जनाले निवेदन पेश गर्नु भएको छ । अब प्राथमिकताका आधारमा लालपुर्जा वितरणको काम अघि बढाउँछौं।’
तीन वर्षको कार्यकालमा भूमि सम्बन्धीका सबै काम सम्पन्न गर्ने योजना रहेको बताएका रिजालले चालु आर्थिक वर्षमा मात्र एक लाख भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्ने लक्ष्य राखिएको बताए । तर आयोगमा कर्मचारी पदपूर्ति जस्ता केही व्यवस्थापकीय काम नभइसकेकाले लक्ष्यअनुसार नै वितरण हुनेमा आशंका रहेको उल्लेख गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा मात्र लालपुर्जाका लागि दुई लाख १८ हजार ३७४ जनाले आवेदन दिएको भूमि समस्या समाधान आयोगले जनाएको छ । आवेदन दिनेमध्ये १० हजार ५४३ भूमिहीन दलित, १६ हजार ६१७ जना भूमिहीन सुकुम्बासी, एक ला ९१ हजार २१४ अव्यवस्थित बसोबासी रहेको तथ्यांकमा उल्लेख छ ।
अध्यक्ष रिजालले तीन वर्षभित्र सबै भूमिहीनहरुलाई लालपुर्जा वितरणको काम सक्ने बताउँदै त्यसपछि कोही पनि भूमिहीन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासी नभेटिने दाबी गरेका छन् । वास्तविक सुकुम्बासीलाई प्राथमिकतामा राखेर लालपुर्जा वितरण गर्ने आयोगको योजना रहेको उनको भनाइ थियो ।
आयोगको टोलीसहित सुदूरपश्चिम पुगेका अध्यक्ष रिजालले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, प्रदेश सभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधीहरुसँग भेटघाट गरेर सुझाव लिएका छन् ।
मंगलबार बिहान पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता रावलसँग पनि आयोगको टोलीले भेटवार्ता गरेको थियो । भेटका क्रममा रावलले आयोगलाई वास्तविक भूमिहीनलाई प्राथमिकतामा राखेर लालपुर्जा वितरणको काम गर्न सुझाव दिएका छन् ।
धेरैले भूमिहीन भन्दै फर्जी आवेदन बनाएर पेश गरेको बताउँदै रावलले त्यस्ताहरुलाई लालपुर्जा दिननहुने बताएका थिए । रावलले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीसँगै प्राकृतिक प्रकोपबाट प्रभावित, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएकाहरुलाई समेत नछुटाउन अनुरोध गरेको बताए ।
कतिपय लालपुर्जा पाइने आशमा वन क्षेत्र ओगटेर बसेकाले वास्तविक भूमिहीन भए÷नभएको कुरालाई मसिलो गरि अध्ययन गर्न आवश्यक रहेको रावलको भनाई थियो ।