राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसद बहिष्कारमा नयाँ शैली प्रयोग गरेका छन् । संसदको पाँचौं अधिवेशनको पहिलो दिन रास्वपा सांसदले समय तोकेरै १५ मिनेट संसद बहिष्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ गर्दै राष्ट्रपतिबाट संसद आह्वान भएको पत्र वाचन गर्न लाग्दा रास्वपाका सांसदहरु उभिएका थिए । सभामुख घिमिरेले उनीहरुलाई पटक पटक बस्न आग्रह गरे । ‘दलीय आधारमा समय निर्धारण गरेर दलको प्रतिनिधिको हिसाबले पनि विचारहरु राख्ने व्यवस्था गरेका छौं । माननीयहरुले त्यही कार्यसूचीलाई साथ दिनुहुन आग्रह गर्दछु,’ सभामुख घिमिरेले भने । उनको आग्रहलाई रास्वपा सांसदले अस्विकार गरे ।
रास्वपाले सुरुमा आफ्ना धारणा राख्न माग गरिरहेका थिए । दलीय आधारमै तय गरिएको समयमै आफ्नो धारणा राख्न पुनः सभामुख घिमिरेले आग्रह गरे । आफ्नो अनुकूल मात्रै सभा सञ्चालन कार्यविधिको व्याख्या नगर्न सभामुख घिमिरेले सुझाव दिए ।
दलीय व्यवस्था अनुसार निर्धारण गरेको समयमा मात्रै धारणा राख्न पाउने ध्यानाकर्षण पटक–पटक गराए । सभामुख घिमिरेले बस्न आदेश नै दिए । ‘आग्रहले नपुगेर आदेश दिन्छु, यहाँहरु बस्नुस्,’ घिमिरेले भने । प्रतिनिधि सभा सञ्चालन विधिको व्यवस्था समेत सुनाउँदै दलीय आधारमा बोल्दा केही समय थप उपलब्ध गराउन सकिने सभामुख घिमिरेले आश्वासन दिए ।
राष्ट्रपति कार्यालयका पत्रहरु पढेर सभामुख घिमिरेले सुनाउने बताएसँगै रास्वपाका सांसदहरुले टेबल ठोकेर विरोध जनाए । रास्वपाका सांसदहरुले विरोध जारी रहँदै सभामुख घिमिरेले सभा सञ्चालन गरे ।
विषयसूचीमा जानकारी लागि सहयोगको अपेक्षा सभामुखले गरिरहे । तर, रास्वापका सांसदले उठेर विरोध जनाइरहे । सभामुखले बोल्न दिएपछि मात्रै बोल्न पाउने सञ्चालन कार्यविधि जानकारी गराए ।
रास्वपालाई चेतावनी शैलीमा ‘आफूलाई लागेको मात्रै उपयुक्त नहुने’ भन्दै सभाुमखले सभा सञ्चालन गरे ।
उहाँले (सभामुखले) समय हामीलाई दिनुभएन । त्यसको विरोधस्वरुप १५ मिनेट सदन बहिष्कार गर्ने निर्णय गरेका थियौं-सोविता गौतम, रास्वपा सांसद
सभामुख घिमिरेले सभा सञ्चालन गरेपछि रास्वपाका सांसदहरुले सदन बहिष्कार गरे । १५ मिनेटका लागि भन्दै उनीहरु बैठक कक्षबाट बाहिरिए । त्यसपछि सभामुख घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधनको समय दिए ।
प्रधानमन्त्री ओलीले बोल्न सुरु गर्दा रास्वपाका सांसदहरु बैठक कक्षमा थिएनन् । प्रधानमन्त्रीले करिब १५ मिनेट बोलिसक्दा रास्वपाका सांसदहरु पनि बैठक कक्षमा प्रवेश गरेर आ–आफ्नो स्थानमा बसे ।
संसद भवन प्राङ्गणमा निस्केर बोल्ने क्रममा रास्वपा सांसद सोविता गौतमले विशेष कुराहरु राख्न चाहेर सभामुखसँग समय मागेको बताइन् । तर समय नपाएकाले बैठक बहिष्कार गरेको उनले बताइन् । ‘उहाँले (सभामुखले) समय हामीलाई दिनुभएन । त्यसको विरोधस्वरुप १५ मिनेट सदन बहिष्कार गर्ने निर्णय गरेका थियौं,’ गौतमले भनिन् ।
सामान्यतया संसदमा बैठक चलिरहेका बेला एकजना मात्रै उभिए पनि बैठक अघि नबढाउने अभ्यास छ । बेलायतको संसदको यो अभ्यास नेपालमा पनि अनुसरण हुँदै आएको छ । तर
आज रास्वपाका सांसदहरु उभिरहँदा सभामुख घिमिरेले बैठकको कारबाही अघि बढाए । उनीहरुले बैठक बहिष्कार गर्दा पनि संसद बैठकको कारबाही सभामुखले रोकेनन् ।
संसदीय मामिलाका जानकारहरु यो शैलीलाई शोभनीय मान्दैनन् । संसद सचिवालयका पूर्व सचिव सोमबहादुर थापा भन्छन्, ‘यो शोभनीय कुरा होइन ।’