प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर हो भनेर प्रश्न सोधेका पत्रकारको पास निलम्बन भएको छ।संसद भवन प्रवेशका लागि संघीय संसद सचिवालयले पास उपलब्ध गराउने गर्छ।
सचिवालयले प्रधानमन्त्री ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै दुई पत्रकारको पास एक महिनाका लागि निलम्बन गरेको हो। गत फागुन ४ गते ती पत्रकारहरूले प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका थिए।
सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ।
ती पत्रकारहरूले संसद भवन परिसरभित्र देखाएको व्यवहार र शैलीले संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको देखिएको सचिवालयको भनाइ छ।
पत्रकार आचारसंहिता २०७३ अनुसार पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र पत्रकारिता गर्नुपर्ने, सार्वजनिक शिष्टाचार र नैतिकता प्रतिकूल हुने सामग्री उत्पार्दन, प्रकाशन र वितरण गर्न नहुने उल्लेख रहे पनि श्रेष्ठ र वलीले पत्रकारिताका आधारभूत मूल्यमान्यता विपरित अमर्यादित शब्द प्रयोग गरी प्रधानमन्त्रीलाई तानाशाह र हिटलर जस्ता विशेषण प्रयोग गरेको सचिवालयको भनाइ छ।