सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालतको आदेश अनुसार जिल्ला कारागार रुपन्देहीमा बसेको १० दिन पुगेको छ । कारागारभित्रै पकाइने सामान्य दाल, भात र तरकारीको भोजनमा उनी सन्तुष्ट छन्।
स्रोतका अनुसार, कारागार प्रशासनले उनले आवश्यक माग भए सोधपुछ गर्दा “केही छैन, जे छ, ठिकै छ, कारागार यस्तै हो” भन्ने प्रतिक्रिया दिने गरेका छन् । कारागार स्रोतका अनुसार लामिछाने कारागारभित्रको जीवनमा आफूलाई अनुकूल बनाउँदै अध्ययनमा समय बिताइरहेका छन्।
उनी नेपाली र अंग्रेजी भाषाका ऐतिहासिक पुस्तकमा रुचि राख्ने जनाइएको छ। कारागारभित्रै पकाइने सामान्य दाल, भात र तरकारीको भोजनमा उनी सन्तुष्ट छन्।
उनीमाथि भेटघाट गर्न आउनेको संख्या अत्यन्त कम रहेको बताइएको छ। दैनिक दुई/चार जनामात्रै उनलाई भेट्न आउने गरेको कारागार प्रशासनले जनाएको छ। रेडियो सुन्न र कहिलेकाहीँ फोन प्रयोग गर्ने सुविधा उनलाई पनि दिइएको छ।
रविका कानुनी सहयोगीहरूले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्। सर्वोच्च अदालतले कैफियत (विवरणसहितको आदेश) माग गरिसकेको छ र उक्त आदेश अध्ययनपछि मात्र थप निर्णय गरिनेछ ।