नेपाल औषधि लिमिटेडको चर्चित ब्रान्ड सिटामोलको उत्पादन करिब महिनादिन देखि रोकिएको छ।
गत वर्षको तुलनामा यो वर्ष सरकारी निकायले सिटामोल खरिद नगरेको तथा मौज्दातमा धेरै रहेको हालका लागि उत्पादन बन्द गरिएको नेपाल औषधि लिमिटेडले जानकारी दिएको छ। नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुका अनुसार गत वर्ष बिक्री भएको अनुपातका आधारमा यस वर्ष सिटामोलको उत्पादन गरिएपनि उत्पादन अनुसार बिक्री नहुँदा हाललाई सिटामोलको उत्पादन बन्द गरिएको हो।
‘हाल करिब डेढ,दुई करोड रुपैयाँ बराबरको औषधि स्टक रहेकोमा सिटामोल धेरै छ, स्वास्थ्य मन्त्रालयले जिटुजी मार्फत् किन्ने सम्झौता नगर्दा मौज्दात रहेको अवस्था छ’, पनेरुले भने, ‘मौज्दात नसकिएसम्म पुनः उत्पादन कार्य थालनी गरिदैंन।’ गत वर्ष स्वास्थ्य मन्त्रालयले नेपाल औषधि लिमिटेडको सिटामोल खरिद गरिदिएपनि यस वर्ष भने खरिद गरेको छैन। लिमिटेडसँग सिटामोल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ समेत मौज्दातमा रहेको छ। पनेरुले थपे ‘फिनिस्ड प्रोडक्ट’को म्याद सकिने समय दुई वर्ष मात्र हुन्छ’,अहिले बनाएको औषधि अर्को आर्थिक वर्षमा बेच्दा‘निअर एक्सपाइरी’को अवस्थामा हुन्छ, कसैले किन्दैनन्।’ लिमिटेडले दुई सिफ्टमा गरी एक दिनको ३ लाख २० हजार ट्याब्लेट सिटामोल उत्पादन गर्दै आएको पनेरु ताउँछन्।
२०७९ चैत्र २० गते औषधि लिमिटेडलाई २० प्रकारका औषधि उत्पादन गराउन सरकारले २४ करोड रकम दिने निर्णय भएको थियो। तत्कालीन मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा गठित समितिले स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयलाई नेपाल औषधि लिमिटेडको सुधार योजना पठाउने र त्यसलाई तीन मन्त्रालयले समन्वय गरेर कार्यान्वयनमा निर्णय समेत गरेको थियो। त्यही आधारमा लिमिटेडले दुई चरणमा काम गरेर १० प्रतिशत औषधि उत्पादन वृद्धि गरेको भए पनि त्यो रकम अझै पाउन नसकेको महाप्रबन्धक पनेरुले बताए।
औषधि उत्पादन १० प्रतिशतले बढाएको भए पनि गत वर्षको जति पनि औषधि उत्पादन गर्न नसकिएको उनको भनाइ छ। उनले निजी औषधि कम्पनीहरुको विभिन्न ‘स्किम तथा भारी छुट’को व्यवस्था गरेका कारण औषधि लिमिटेडको सिटामोलले बजारमा प्रतिस्पर्धा गर्न समस्या भइरहेको बताए।