माइतीघर-नयाँ बानेश्वर सडकमा १७ दिनदेखि शिक्षकहरूको प्रदर्शन जारी छ।
बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म शिक्षकहरूको आन्दोलनकै लागि माइतीघर-नयाँ बानेश्वर खण्डमा सवारी आवागमन बन्द गरिन्छ। यसले नयाँ बानेश्वर हुँदै चल्ने सार्वजनिक सवारी साधनहरूको आवतजावत प्रभावित पारेको छ। बानेश्वर सडक प्रभावित हुँदा दिउँसोको समयमा थापागाउँ र धोबीखोला करिडोरमा सवारी साधनको लामो जाम हुने गरेको छ।
प्रदर्शनको समयमा बागमती करिडोरमा पनि सवारी साधनको चाप बढ्ने गरेको छ। यसले यात्रुहरूले सास्ती खेपिरहेका छन्। शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन सुरू गरेको चैत २० गतेदेखि हो। आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमार्फत २०८० असोजमा तत्कालीन सरकारसँग भएको सहमति कार्यान्वयनको माग गरेको छ।
सरकारले विद्यालय शिक्षा विधेयक पनि पास गराउने उद्धेश्यका लिएर बर्खे अधिवेशन वैशाख १२ गते बोलाउने निर्णय गरेको थियो। सोअनुसार राष्ट्रपतिबाट पनि अधिवेशन आह्वान भइसकेको छ। अधिवेशन आह्वान भइसकेको अवस्था र त्यसबाट शिक्षकहरूले उठाउँदै आएका मागहरू सम्बोधन हुने श्वासनसहित सरकारले शिक्षकहरूलाई आन्दोलन रोकेर काममा फर्किन आग्रह गरिरहेको छ। यद्यपि शिक्षकहरूले माग पूरा नभएसम्म आन्दोलन नरोकिने अडान लिँदै आएको छ।