राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मानिसको बोल्ने, लेख्ने र प्रदर्शन गर्ने अधिकारलाई खुम्च्याउँदै लगेको बताएका छन् ।
सिंहदरबारभित्र प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले तीनकुने घटनाबारे छानबिन गर्न न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, राप्रपाका नेताहरूको रिहाइ हुनुपर्ने माग गरेका छन् ।
उनले सरकार जनताबाट टाढा हुँदै गएको बताए । उनले भने,‘जनताबाट सरकार टाढा हुँदैछ । सरकारले सुनोस् भनेर सिंहदरबारबाट प्रदर्शन गरिएको हो । आज सुनाउन खोजेका छौँ ।’ अध्यक्ष लिङ्देनले दलको कार्यालय अगाडि अस्वाभाविक रूपमा प्रहरी तैनाथ गरेको बताए ।
यसैबीच सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा विभिन्न नारा लेखिएको पम्प्लेटसहित प्रदर्शन गरेपछि लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाही र उपाध्यक्ष एवं उपनेता बुद्धिमान तामाङलाई पक्राउ गरिएको छ । त्यसक्रममा राप्रपाका सांसदहरूले तीनकुने घटनाबारे छानबिन गर्न न्यायिक छानबिन आयोग गठन गर, पार्टीका नेताहरूको रिहाइ हुनुपर्ने लगायतका नारा लगाएका थिए ।