प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् ।
राप्रपा अध्यक्ष लिङ्देन र प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई प्रहरीले सिंहदरबार परिसरभित्रबाट नियन्त्रणमा लिएको थियो । उनीहरुलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ । प्रहरीले नियन्त्रणमा लिएपछि अध्यक्ष लिङ्दनेसहितका नेताहरु माइतीघर–बिजुलीबजार–बानेश्वर सडकखण्डमा आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन पाएनन् ।प्रदर्शनकारीहरु भने माइतीघरतर्फ गइरहेका छन् । उनीहरुले ‘हाम्रा नेता रिहा गर’, ‘हिन्दु राज्य कायम गर’ लगायतका नारा लगाएका छन् । राप्रपाले आज तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने लगायतका माग राखेर काठमाडौंमा प्रदर्शन आयोजना गरेको छ ।
कार्यकर्ताहरु बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन सुरु गरिसक्दा राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा थिए । प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो । त्यसपछि उनीहरुले तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई रिहा गर्न माग गरेर लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए ।
प्रहरीले भने पम्प्लेट खोसेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो । नेता दीपक सिंहले प्रहरीले पार्टी अध्यक्ष लिङ्देन र प्रमुख सचेतक शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । उनले प्रहरीले गलत काम गरेको भन्दै विरोध समेत गरे ।