कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले बालगिरी कुँवरलाई पार्टी सदस्यताबाट निष्कासन गरेको छ । अछाम साफेवगर–४ का कुँवर एमाले सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य थिए । एमालेबाट निष्कासित डा. भीम रावलको अभियानलाई साथ दिएको भन्दै उनलाई एमालेले निष्काशन गरेको हो ।
पार्टीको जिम्मेवार पदमा रहेर पार्टी विरोधी गतिविधिमा संलग्न रहेको उनीमाथि आरोप लगाइएको छ । ‘कुवँरलाई कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको’ एमाले प्रदेश सचिव रणबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘उक्त पदमा रही विधानको धारा ८० को उपधारा १ र २ आकर्षित हुने अनुशासन उल्लङ्घन गरि पार्टीको विरुद्धमा लागी भ्रम पूर्ण समाचारहरू सम्प्रेषण गर्नुभएको ठहर गर्दै कमरेड बालगिरी कुवरलाई पार्टी विधान २०४९ (प्रथम विधान महाधिवेशन २०७८ को संशोधन सहित) को धारा ८१ को उप धारा (१) बमोजिम प्रदेश लेखा कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।