आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक यस्तो प्रविधि हो जसले मान्छे जस्तो सोच्न, सिक्न र निर्णय गर्न सक्ने खुबी कम्प्युटर वा मेशिनमा विकास गर्छ। यसले ठूलो मात्रामा सूचना विश्लेषण गरेर विभिन्न कामहरू गर्न सक्छ। अचम्म अचम्मका काम जस्तै, स्वचालित गाडी चलाउने, स्वास्थ्य क्षेत्रमा रोगको पहिचान, र फेक सामग्री (जस्तै डिपफेक) बनाउने वा पत्ता लगाउने इत्यादि। एआईले उद्योग, शिक्षा, सञ्चार, स्वास्थ्य, सुरक्षा र मनोरञ्जनलगायतका थुप्रै क्षेत्रमा सहयोग पुर्यायइरहेको छ।
एआईले गर्न सक्ने काममा डिपफेक पनि एक हो। डिपफेक भन्नाले एआई प्रविधिको प्रयोग गरेर बनाइने यस्तो (फेक) डिजिटल सामग्री हो, जसमा कसैको अनुहार, आवाज वा हाउभाउलाई साँचै झैँ देखिने तरिकाले एडिट गरिएको हुन्छ।
नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग तीव्र रूपमा आतंक मच्चाउँदै आएको पाइएको छ।
सामाजिक सञ्जाल प्लेटफर्महरूमा एआई प्रविधिको प्रयोग गरी अश्लील, कपोकल्पित तथा भ्रामक सामग्रीहरूको उत्पादन र तीव्र प्रचारप्रसार गर्ने चलन बढेको छ। विशेषगरी राजनीतिक दलहरू र तिनका समर्थकहरूले एक-अर्कालाई बदनाम गर्न एआई प्रविधिको सहारा लिन थालेका छन्। यसले समाजमा विभाजन ल्याउने र द्वन्द्व बढाउने खतरा रहेको छ सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। भने व्यक्तिगत रूपमा रिसइवी मुटावलाई लिएर सामाजिक सञ्जालमा बदनाम गर्ने लहर नै चलेको छ।
हालसालै मात्रै सामाजिक सञ्जाल टिकटक र फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा हुनु नहुनुको दुःख पाएको भन्ने भ्रामक भिडियो भाइरल भएको छ। यस्तै, राजावादी नेता दुर्गा प्रसाईंका एआई प्रविधिबाट निर्मित भिडियोहरू पनि छ्यापछ्याप्ती भाइरल भइरहेका छन्। दुर्गा प्रसाईंको भिडियो हाल्ने बित्तिकै लाखौँ भ्युज आउन सुरु गर्छ।
यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डबाट फर्किंदा ‘सुँगुर चढेको’ भन्दै बनाइएको चिप-फेक भिडियोसमेत भाइरल भएको थियो। त्यसैगरी प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो। एआई प्रविधिकै कारण गायिका समीक्षा अधिकारीदेखि काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसम्म पीडित भइसकेका छन्।
एआई प्रयोग गरेर कुनै व्यक्तिको अनुहार वा आवाजलाई अर्कै फोटो तथा भिडियोमा मिसाएर नक्कली सामग्री सजिलै बनाउन सकिन्छ। यसको दुरुपयोग गरी कुनै पनि व्यक्तिलाई जस्तोसुकै कुरा भनिरहेको वा गरिरहेको देखाउन सकिन्छ। यसलाई माध्यम बनाएर यसको भरपुर दुरुपयोग भइरेहेको छ।
यस्ता सामग्री टिकटक, फेसबुकलगायतका प्लेटफर्ममा अपलोड हुने क्रम जारी छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्ता सामग्रीहरू जानी–नजानी शेयर गर्छन् र प्रतिक्रिया दिनेहरूले हेरेर मनलाग्दी नानाभाँति अश्लील टिप्पणी गर्ने प्रवृत्ति बढ्दो छ। एआई प्रविधिबाट तयार पारिएका कतिपय सामग्री त सजिलै पहिचान गर्न कठिन भएकाले प्रयोगकर्ताहरू छिट्टै भ्रममा पर्न सक्ने र गलत जानकारी फैलाउने जोखिम बढेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्ने गरी यस्ता क्रियाकलाप भए प्रचलित साइबर कानुनअनुसार कारबाही गर्ने चेतावनी त दिएको छ। तर यसको प्रयोग घटेको भने छैन।उनीहरूले प्रविधिको प्रयोग गर्दा सोचविचार गरी अरूको सम्मानमा आँच नपुग्ने गरी सकारात्मक रूपमा प्रयोग गर्न अनुरोध गरेका छन्। अर्कोतर्फ, भने यस्ता समस्याहरूको नियन्त्रणका लागि प्रभावकारी कानुन निर्माण गरी र जनचेतना अभिवृद्धि गर्नुपर्ने एवं दोषीहरूलाई कडा कारबाहीको मागसमेत उठ्न थालेको छ।