सर्वोच्च अदालतले दुर्गा प्रसाईंका दुई वटा अस्पतालको बैंक खाता फुकुवा गर्न आदेश दिएको छ । न्यायाधीश हरिश्राद फुँयालको इजलासले प्रसाईको बिएण्डसी मेडिकल टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र पूर्वाञ्चल ब्यायसर हस्पिटलको बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।
हाल प्रसाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । तीनवटै घटनामा मुख्य दोषीका रुपमा प्रसाईलाई भारतको आसामबाट पक्राउ गरेर ल्याइएको थियो । प्रसाईलाई पक्राउ गरेर उनीमाथि अनुसन्धान सुरु गरेसँगै प्रसाई सञ्जालक रहेको दुबै अस्पताललाई कालोसूचीमा राखेर अस्पतालको बैंक खाता रोक्का गरिएको थियो ।
उक्त बैंक खाता नै रोक्का हुँदा अस्पतालको सेवा नै प्रभावित भएपछि अस्पतालका डाइरेक्टर अरुण कार्कीले खाता फुकुवा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमा अन्तरिम आदेश माग गरिएको थियो । रिटमाथि सुनुवाई गर्दा न्यायाधीश फुँयालको इजलासले दुबै अस्पतालको बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ ।