तीनकुनेको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंको बयान लिने काम सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईंको बयान लिन सुरु गरिएको हो ।
सोमबारबाट प्रसाईंको बयान लिने काम सुरु भएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले बताए । समय अभावका कारण सोमबार थोरै समय प्रसाईंको बयान लिइएको थियो । फेरि बयान सुरु भएको काफ्लेले बताए । ‘प्रसाईंविरुद्धको बयान जारी छ । उहाँविरुद्ध विविधि कसुरमा बयान लिने काम भइरहेको छ’, काफ्लेले अनलाइनखबरसँग भने । सरकारी वकिल स्रोतकाअनुसार प्रसाईंविरुद्ध ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर बयान लिन सुरु गरिएको छ ।
यसका साथै ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा बयान सुरु भएको छ । राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको भन्दै त्यस दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीले उनीविरुद्ध ज्यान मार्ने उद्योगको समेत जाहेरी दिएका थिए । ज्यान मार्ने उद्योगको कसुर प्रसाईंविरुद्ध सबैभन्दा बलियो मुद्दा बन्न सक्ने बताइएको छ । सार्वजनिक भएको भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ ।