काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनरत शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई आग्रह गरेको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौ केन्द्रित सडक आन्दोलनमा होमिएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य नगर्न भनेको हो ।
२०८१ माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन गरिरहेको छ ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यले गरिएको यो आन्दोलन अन्तिम र निर्णायक आन्दोलन भएको दाबी शिक्षक महासंघले गरेको छ ।
त्यसैले यो आन्दोलनलाई अझ सशक्त बनाउन उसले देशभरका सबै शिक्षक–कर्मचारीलाई काठमाडौँ आउन पनि आह्वान गरेको छ । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसहित सामुदायीक विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ ।