काठमाडौं। नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
निबार साँझ पक्राउ परेकी सांसद राईलाई आइतबार अदालत लगिएको थियो । उनलाई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ ।
राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।