काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि प्रहरीले अपमानजनक व्यवहार गरेको छ । आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने क्रममा उनलाई दुवै हातमा हत्कडी लगाइएको थियो ।
प्रहरीले थुनुवाको पोशाकमा गाडीबाट ओर्लेर हत्कडी सहित अदालत लैजाँदै गर्दा प्रहरीले उनलाई धकेलेको भिडिओ सार्वजनिक भएको छ । मिश्रले हत्कडीसहितको हात उठाएर अदालततर्फ ‘नमस्कार’ गर्न खोजे । तर, प्रहरीले उनको हातमै समातेर रोके ।
प्रहरीले राेक्दै गर्दा मिश्रले भनेका थिए,`अदालतलाई नमस्कार गर्नुपरेन ?
घटनास्थलमा रहेका राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्कीले प्रहरीबाट ज्यादतिपूर्ण व्यवहार देखाइएको बताए ।
‘राजनीतिक आन्दोलनमा सहभागी भएकै कारण एउटा प्रमुख दलको वरिष्ठ उपाध्यक्षलाई यो किसिमको व्यवहार गरिनु भत्र्सनापूर्ण छ’, उनले भने ।
यसअघि पनि मिश्रलाई अदालत ल्याउँदा हत्कडी लगाउने गरिएको थियो । तर, गाडीबाट ओराल्ने बेलामा हत्कडी खोल्ने गरिन्थ्यो । तर, आज भने गाडीबाट ओर्लिँदा पनि हत्कडी फुकालिएन ।