नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराएका हुन् ।
उनले राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकहरूमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठूलो बेचैनी, असन्तोष रहेको बताए । उनले असन्तुष्टि र बेचैनीको मुख्य कारण राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा परिवर्तन नआउनु रहेको बताए ।
असन्तुष्टि र बेचैनीलाई हटाउन जरुरी रहेको उल्लेख गरे । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि असन्तुष्टि र बेचैनी हटाउनु रहेको बताए । सरकारले अर्थतन्त्रमा देखिएका समस्या र संकटलाई समाधान गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
महामन्त्री थापाले नेकपा एमालेसँग भएको सहकार्यअनुसार नै अघि बढ्ने र संघ वा प्रदेश कतै पनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पारे । सरकारमा बस्नका लागि मात्रै नभइ परिणाम दिनेगरी काम गर्न आवश्यक रहेको बताए ।