काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालय, पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा प क्राउ परेका खाँणको बयान सोमबारबाट सुरु भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र जिल्ला प्रहरी परिसर, काठमाडौंका मुद्दाका शाखाका डीएसपी निरञ्जनदत्त भट्टको उपस्थितिमा उनको बयान भइरहेको हो ।
सोमबार प्रश्न सोध्दा सोध्दै ‘आजलाई भयो’ भन्दै पूर्वगृहमन्त्री खाँण उठेका थिए । ‘५/६ वटा प्रश्न सोध्ने वित्तिकै अब भयो.. भयो भन्दै उहाँ उठ्नुभयो’, सरकारी वकिलको कार्यालयका एक अधिकारी भन्छन्, ‘प्रश्न सोध्दा उहाँले एकदमै झिजो मान्नुभयो, पछि स्वास्थ्य पनि समस्या भनेर उहाँलाई पठाइयो ।’ सरकारी वकिलको कार्यालयले खाँणको बयान सोमबारै सक्ने तयारी गरेको थियो ।