काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले बुधबार छाड्ने तयारी गरेको छ ।जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाड्न लागेको हो ।
अदालतको आदेशपछि यो प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुर पनि छुट्नेछन् ।मुलुकी अपराध संहिताको दफा १५ मा कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा अनुसन्धान अधिकृतले हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ । अदालतको आदेशपछि प्रहरीले यही दफा प्रयोग गरेर तीन जनालाई छाड्न लागेको बाँसबारी जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताए ।
आरोपीहरु हाजिरी जमानीमा छुटे पनि थप अनुसन्धान गरिरहन प्रहरीलाई बाधा नपुग्ने ब्यूरोका एसएसपी दिनेश आचार्य बताउँछन् । ‘उहाँहरुलाई हाजिर जमानीमा छाडेपनि थप अनुसन्धान अघि बढिरहन्छ’, उनले अनलाइनखबरसँग भने, ‘यद्यपि, उहाँहरु छुट्ने वा के हुने भन्ने निर्णय भोलि (बुधबार) नै हुन्छ ।’
हाजिरी जमानतमा छाड्दा बरु प्रहरीलाई अनुसन्धानका लागि थप समय मिल्ने एक अनुसन्धान अधिकृत बताउँछन् । महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार, आरोपी हाजिर जमानीमा छुटेको अवस्थामा प्रतिवादी पक्राउ नपरेको मुद्दामा झैं २५ दिनभित्र मुद्दा अदालतमा दर्ता गरिहाल्नुपर्ने बाध्यता हुन्न ।
अब यसमा ठगीमा भएको एक वर्षको हदम्यादभित्र अनुसन्धान सकेर प्रहरीले फाइल बुझाए हुने अवस्था बन्छ, सरकारी कागजात किर्तेमा हदम्यादको व्यवस्था छैन’, उनले अनलाइनखबरसँग भने ।सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि १८ माघमा अरुण चौधरीलाई पक्राउ गरेलगत्तै छाड्न चर्को दबाब परेको थियो । एक उच्च प्रहरी अधिकृतका अनुसार, पक्राउ परेकै दिन छाड्ने दबाब झेल्न गृह प्रशासनलाई सहज अवस्था थिएन ।