राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको घोराही-तुलसीपुर सडक खण्डमा दबाबमूलक यात्रा गरेको छ ।पाँच वर्षअघि निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको २३ किलोमिटर लामो घोराही-तुलसीपुरको सडकखण्डमा पूर्वशिक्षा मन्त्री शिशिर खनालको नेतृत्वमा शनिबार रास्वपाले दबाब यात्रा गरेको हो । रास्वपाले दबाब यात्राका लागि तय गरेको २१ रुग्ण आयोजनामध्ये यो सडक पनि एक हो ।तुलसीपुरको बीपी चोकमा यात्रा समापन गर्दै पूर्वमन्त्री तथा सांसद शिशिर खनालले वर्षौं सडक अलपत्र पारेर नागरिकलाई दुःख दिने काम भएको भन्दै दबाब मुलक यात्रा गर्नुपरेको बताए ।
रास्वपाका नेता एवं विकास योजना तथा नीति तर्जुमा केन्द्रीय विभागका सचिव विशाल अधिकारीले आफूहरुको पटकपटकको दबाबले ठेक्का रद्द भए पनि नयाँ ठेक्का प्रक्रिया अघि बढ्न नसकेको बताए ।उनले तत्काल नयाँ ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिन यात्रा गरेको बताए ।घोराहीदेखि सुरु भएको दबाब यात्रामा रास्वपाका नेता कार्यकर्ता र सर्वसाधारण गरी दुई सय भन्दा बढी सहभागी थिए ।०७५ सालमा सुरु भएको घोराही-तुलसीपुर चारलेन सडक विस्तारको जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको थियो ।पाँच वर्षदेखि सडक निर्माणाधिन अवस्थामा अलपत्र पारेपछि गत जेठमा ठेक्का रद्द गरेर नयाँ प्रक्रिया बढाइएको थियो । तर हालसम्म उक्त सडकको ठेक्का लागेको छैन ।